परराष्ट्रमन्त्री डा. देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान

0 Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् ।

उनलाई आज साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए । यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्नेछिन् । भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्र संघीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नेछिन्।

मन्त्री डा देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित छन् । उनी यही फागुन १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचार