कैलाली । जिल्लाको धनगढी उपमहानगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता भएको छ ।
नगरप्रमुख गोपाल हमाललले सम्झौता पत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताए ।
आवश्यकता पहिचानका आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्य योजना तयार गरी लागू गरिने जनाइएको छ । कार्यक्रमलाई पहिलो वर्षमा पाँचवटा विद्यालय छनोट गरी कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरका सबै विद्यालयमा कार्यान्वयन गरिने सम्झौता पत्रमा उल्लेख छ ।
काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपीइसी युनिटमार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ । कार्यक्रमको सुरुवातमा सिपीइसी युनिटले धनगढी उपमहानगर अन्तर्गतका विद्यालयमा अध्ययन गरी आवश्यकता पहिचान गर्ने छ ।
उक्त सम्झौता पत्रमा काठमाडौं विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डीन प्रा. डा. बालचन्द्र लुइँटेल र धनगढी उपमहानगरका तर्फबाट नगरप्रमुख हमालले हस्ताक्षर गरे ।
सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, स्कुल अफ आर्टस्का डीन इकुमाया पुनलगायत स्कुल अफ एजुकेशनका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।