शाइन रेसुङ्गा बैंकको आयोजनामा दौड प्रतियोगिता हुँदै, सद्भावनादूतमा मानन्धर नियुक्त

0 Shares

काठमाडौं । शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावनादूतमा बैकुण्ठ मानन्धरलाई नियुक्त गरेको छ । फागुन ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावनादूतमा नियुक्त गरिएको हो ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक मानन्धरले दौड संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सद्भावनादूत नियुक्त गरिएकोमा आयोजक शाइन रेसुङ्गा बैंक परिवारलाई धन्यवाद दिएका छन् । उनले आममानिसको स्वास्थ्य जीवन शैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्नु पर्ने बताए ।

रन टु शाइन भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते “शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन“ प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी हुन ईच्छुक खेलाडी तथा धावकहरुलाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट www.srdb.com.np वा https://srdb.com.np/campaign/shineresungarun लिंकमा गएर फागुन ९ गते दिउँसो १२ बजेसम्म नाम दर्ता गर्न सकिने छ । दौड बैंकको केन्द्रिय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा पुगेर समापन हुनेछ।

बैंकको १७औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको हो । प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय ५० वर्षसम्म र स्थानीय ५० वर्ष भन्दामाथिका गरी तिन विधा रहेका छन् ।

लुम्बिनी प्रदेशको कुनै पनि जिल्लाका नागरिकता भएका धावकहरूले मात्र स्थानीय क्याटेगरीमा सहभागी हुन पाउने छन् । लुम्बिनी प्रदेशको कुनै पनि जिल्लाको नागरिकता नभएका धावकले स्थानीय क्याटेगरीा आवेदन दिए पनि स्वतः खुला क्याटेगरीमा दर्ता हुनेछन् । सहभागीताको लागि इच्छुक प्रतियोगीले एउटा विधामा मात्र नाम दर्ता गर्न सक्ने छ ।

प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै, स्थानीय धावकको सहभागिता बढाउन ५ किलोमिटरको दौडमा ५० वर्षसम्म र ५० वर्ष भन्दामाथिका गरी दुई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको व्यवस्थापन र अपरेसनमा कखरा इभेन्ट जोडिएको छ । वित्तीय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको नेपालको लोकप्रिय बैंकको रुपमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले विभिन्न सामाजिक क्रियाकलापमा आफूलाई अग्रणी रुपमा सामेल गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुपमा खेलकुदमार्फत सामाजिकउत्तरदायित्व पूरा गर्ने उद्देश्यसहित राष्ट्रिय स्तरको दौड प्रतियोगितालाई घोषणा गरेको हो।

सम्बन्धित समाचार