काठमाडौं । गायिका एलिना चौहानले विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्धविच्छेद गरेपछि सन्देश लेखेकी छन् । मंगलबार उनले सामाजिक सञ्जालमार्फत आफूहरूको सम्बन्धविच्छेद रहरले नभई बाध्यताले भएको बताइन् ।
उनले फेसबुकमा लेखेकी छिन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आआफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ । पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु ।’
उनले भावनात्मक मिलन, आपसी विश्वास र समझदारी विवाहको मुख्य प्राण हुने बताउँदै आफूहरूको सम्बन्धमा यी कुनै नभएको संकेत गरिन् । ‘हाम्रो सम्बन्धमा अल्पायुमै पूर्ण विराम लागेको छ। यो रहरले होइन । जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ,’ उनले भनेकी छन् ।
यसअघि उनले भनेकी छन्, ‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरीका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्, हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।’
विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया पुगेकी गायिका चौहान केही महिना बसेर एक्लै नेपाल फर्किएकी थिइन्। त्यसपछि उनी अष्ट्रेलिया गएकी थिइनन्।
गायिका एलिना चौहान गत वैशाख ५ गते विवाह गरेकी थिइन्। झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोह सम्पन्न भएको थियो।
उनको डिभोर्स भएसँगै अर्की गायिका रचना रिमालले मनबाट ठूलो आँट र निर्णय लिएको भन्दै खुसी हुन आग्रह गरेकी छन् ।