अमेरिकामा टिकटक चल्न छोड्यो

0 Shares

काठमाडौं । अमेरिकामा शनिबार राति टिकटक बन्द भएको छ । प्रतिबन्ध लागू हुनु भन्दा दुई घण्टा भन्दा कम पहिले नै टिकटक बन्द भएको हो । एप्लीकेशन खोल्दा टिकटक अहिले उपलब्ध नभएको र अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाइएकाले टिकटक प्रयोग गर्न नसक्ने सन्देश आउन थालेको छ । साथै राष्ट्रपति ट्रम्पले पदभार सम्हालेपछि टिकटक पुनस्थापनाका लागि समाधान निकाल्न आफूहरुसँग काम गर्ने संकेत गरेकाले भाग्यशाली ठानेको समेत सुचनामा उल्लेख गरिएको छ ।

अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन रोक्न अस्वीकार गरेपछि आइतबारदेखि अमेरिकामा टिकटक बन्द भएको हो । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा टिकटक बन्द भएको हो । ट्रम्पले टिकटकलाई ९० दिनको समयसिमा दिने संकेत गरेका छन् । त्यसो भएमा बन्द भएको टिकटक ट्रम्पले पदभार ग्रहण गरेपछि खुल्न सक्छ ।

सर्वोच्च अदालतले सामाजिक सञ्जाल एप टिकटकमाथि लगाइएको प्रतिबन्धले संविधानको पहिलो संशोधनको उल्लङ्घन गर्ने नगर्ने भन्नेबारे निर्णय गर्न जनवरी १० मा बहस सुन्ने निर्णय गरेको थियो । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा केही दिन अघि अदालतले शीघ्र रुपमा यस विषयमा मुद्दा हेर्ने सहमति जनाएको थियो ।

गत वर्षको सुरुवातमा संसदले दुईदलीय समर्थनका साथ प्रतिबन्ध पास गरेको थियो, जसलाई राष्ट्रपति जो बाइडेनले अप्रिलमा हस्ताक्षर गरेका थिए । यो कानुन वर्षौँदेखि टिकटकको चिनियाँ मूल कम्पनीले अमेरिकामा राष्ट्रिय सुरक्षा जोखिम निम्त्याउन सक्ने चिन्ताको प्रतिक्रियास्वरूप आएको हो। यद्यपि एपले चिनियाँ स्वामित्वबाट अलग हुने निर्णय गरेमा अमेरिकी बजारमा संचालन गर्न सक्ने कानुनमा उल्लेख छ ।

१७० मिलियन भन्दा बढी अमेरिकीहरूले टिकटकलाई मनोरञ्जन र सूचनाका लागि प्रयोग गर्दै आएका छन् । अमेरिका र चीनबीचको जटिल कुटनीतिक सम्बन्धको मार अहिले अमेरिकामा टिकटकमाथि परेको हो । दुईदेशबीचको व्यापारयुद्ध, कोरोना महामारी, प्रविधिमा प्रतिस्पर्धा, साउथ चाइना शीमा बढ्दो तनाव, ताइरुनवानसँगको सम्बन्ध, रुस र युक्रेनबीचको युद्ध लगायतले दुई देशबीचको द्वन्द्वलाई अझ बढाएको हो । दुईदेशबीच राजनीतिक शक्तिका लागि व्यापक प्रतिपस्र्धामा रहेको तथा आर्थिक र सुरक्षाका मुद्दाहरु अग्रपंक्तिमा रहेको अवस्थामा यसैको भूमरीमा टिकटक परेको हो ।

दुईदेशबीचको कडा आशंकाका कारण नै टिकटकका सन्दर्भमा अमेरिकाले गोपनियता र सुरक्षा चिन्ता व्यक्त गर्नुका साथै चीनको सरकारबाट टिकटक अमेरिकाविरुद्ध दुरुपयोग हुनसक्ने त्रास उत्पन्न भएको हो । अमेरिका र चीनबीचको टेक्नोलोजी युद्ध द्विपक्षीय व्यापार युद्धबाट विकसित भएको हो । अमेरिकाबाटमात्र टिकटकको आम्दानी गतबर्ष १६ बिलियन डलर रहेको थियो भने टिकटक सन् २०२३ मा अमेरिकामा सबैभन्दा बढी ४७ मिलियन अमेरिकी प्रयोगकर्ताबाट डाउनलोड गरिएको सामाजिक सञ्जाल एप्लीकेशन थियो ।

एकबर्ष अगाडि प्यु रिसर्च सेन्टरले सार्वजनिक गरेको सर्वेक्षण अनुशार ५० प्रतिशत अमेरिकन बयस्कहरु टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने पक्षमा देखिएका थिए भने जम्मा २२ प्रतिशतले टिकटमा प्रतिबन्धको विरोध गरेका थिए । प्रतिबन्ध लगाउन नहुने कडा धारणा राख्नेहरु १८ देखि २९ बर्षसम्मका ४६ प्रतिशत थिए । प्रतिबन्ध लगाउनुपर्ने पक्षमा रुढिवादीका रुपमा चिनिने ७० प्रतिशत थिए ।

तर टिकटकप्रतिको यो भावनामा गत डिसेम्बरसम्म आइपुग्दा परिवर्तन भइसकेको छ । अर्थात् डिसेम्बरमा प्यु रिसर्च सेन्टरले नै सार्वजनिक गरेको सर्वेक्षणमा टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने पक्षमा रहेकाहरुमा १२ प्रतिशत गिरावट आएर ३८ प्रतिशतमा झरेको छ । ३५ प्रतिशतले प्रतिबन्ध लगाउन हुने नहुनेबारे आफू अनिश्चित रहेको बताएका थिए भने २७ प्रतिशतले प्रतिबन्धको विरोध गरेका थिए । यद्यपी फेब्रअरीको रिसर्चमा अमेरिकी प्रयोगकर्ताहरुमध्ये आधाले कहिलेपनि भिडियो बनाएर पोष्ट नगरेको देखाएको छ । (अमेरिकाबाट प्रकाशित हुने खासोखास अनलाईनबाट साभार गरिएको हो)

सम्बन्धित समाचार