रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

0 Shares

काठमाडौं । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।

सिस्ने–३ का ओमप्रकाश खड्काले २५० धार्नी मह बिक्री गरेर यो याममा सात लाख ५० हजार आम्दानी गरे । अब १४० धार्नी मह बिक्री हुन बाँकी रहेको उनको भनाइ थियो ।

“यस वर्ष राम्रो मह उत्पादन भएको छ, मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने १२ लाख कमाउँछु”, किसान खड्काले भने ।

सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६० घारबाट १८० धार्नी मह निकालेका छन् । मह निकाल्न अझै दश मौरीका गोला बाँकी छन् भने एक सय आठ धार्नी मह बिक्री भइसकेको छ ।

उनले बिक्री भएको महबाट तीन लाख २४ हजार आम्दानी गरेका छन् । अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ, उनले भने, “यो याममा सात लाख बराबरको आम्दानी हुने भएको छ । ”

एक धार्नीमा साढे दुई किलो मह हुने गर्छ । एक किलो महलाई १२ सयसम्ममा बिक्री हुने गरेको जनाइएको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ ।

सिस्ने –३ मा यो याममा ९० लाख बराबरको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिए । अघिल्लो वर्षका तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन भएको एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले बताए ।

सम्बन्धित समाचार