काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को २०८१ पुस १६ गते बसेको बैठकको निर्णयमा सम्पत्ति शुद्धिकरण सम्बन्धी राष्ट्रिय अभियानको रुपमा सुरु गर्ने निर्णय गरेको हो ।
सञ्चार मन्त्रालयमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारले गलत तरिकाले आर्जन गर्ने कालो धनको परिपाटी विरुद्ध जनचेता फैलाउन समेत जरुरी रहेको बताए । त्यस्तै, सम्पत्ती शुद्धिकरणको मामिलामा नेपाललाई जोखिमुक्त बनाउन ग्रे लिस्टबाट जोगाउन सचेतना अभियान संघ र प्रदेशस्तरबाट सञ्चालन गरिने बताए ।
यी हुन मन्त्रिपरिष्का निर्णयहरु
निर्णयहरु सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले महान्यायधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी ९पहिलो संशोधन कार्यविधि–२०८१ स्वीकृत गर्ने, फिलिपिन्समा आयोजना हुने फेश टु फेश मिटिङ मा २०८१ साल पुस २८ देखि माघ २ गते सम्म नेपाल राष्ट्रिय बैंकका गर्भनर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।
त्यस्तै, सरकारले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट नेपाल सरकारले उपलब्ध गराएको (पिपिपि) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने, विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा छत्र बहादुर कटुवाललाई नियुक्त गर्ने, आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँमा सरुवा गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषद्को निर्णय बमोजीम नेपाल सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बुढीगंगा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने, जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं १ को २७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालनीलाई उपयोग गर्न स्वीकृति दिने, हिल्सा– सिमिकोट सडकको सल्लिसल्ला–सिमिकोट खण्डको कडा चट्टान रहेको ८०० मिटर लम्बाईको सडक निर्माण र चुवा खोलामा बेली बृज निर्माणको कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने, राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य, रुपन्देहीलाई नियुक्त गर्ने, अप्पर देउमाई खोला साना जलविद्युत आयोजना निर्माणको लागि इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका तथा देउमाई नगरपालिकामा रहेको राष्ट्रिय वनको ४.८२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, कानेपोखरी गाँउपालिका मोरङको केन्द्र वडा नं ६ बयरवनलाई परिवर्तन गरी वडा नं ५ भौंसाबारी कायम गर्ने निर्णय छन् ।
त्यस्तै, खानेपानी तथा सरसफाइ नियमावली, २०८१ स्वीकृत गर्ने, निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न वनेको विधेयक संघिय संसदमा पेश गर्न स्वीकृति दिने, विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ स्वीकृत गर्ने, ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत गर्ने, वाणिज्य नीति, २०८१ स्वीकृत गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।