काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।
अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लाग्ने भएको हो ।
उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
यसैबीच, संगठनको नेतृत्वमा दाबेदारी गरिरहेका विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । उनीहरूले चुनावमा निष्पक्षता नभएको भन्दै आक्रोश पोखेका हुन् । संगठनका पदाधिकारीहरूले निर्वाचनमा पार्टीका नेताहरू हस्तक्षेपमा उत्रिएको भन्दै विरोध जनाएका छन् ।
‘निर्वाचनको निष्पक्षता, धाँधली, केही पार्टी नेताहरूको प्रत्यक्ष हस्तक्षेपबाट मत प्रभावित गरिएको, उपस्थित नभएका प्रतिनिधिको फर्जी मत हालिएको र प्रतिनिधिलाई मतदानबाट बन्चित गरिएको विषयमा मतदान प्रक्रिया सुरु हुँदैदेखि निर्वाचन समितिमा परेका गम्भीर उजुरीको कुनै छानबिन र निर्कौलबिना मत परिणाम सार्वजनिक गरिनुले निर्वाचन समितिको निष्पक्षतामाथि गम्भिर प्रश्न उठेको छ,’ पवन कार्कीले भने, ‘यो निर्वाचन समिति, १३ गतेको निर्वाचन र घोषित परिणामउपर तत्काल सत्यतथ्य छानबिन गर्नका लागि आज बसेको पार्टीको पदाधिकारी बैठकले छानबिन समिति बनाउने निर्णय गरेको छ, छानबिन समितिको रिपोर्ट आएपछि मात्रै अखिल क्रान्तिकारीको सम्मेलनको बाँकी कार्य तालिका अगाडि बड्ने जानकारी गर्दछु, राजनैतिक यात्रा लामो छ धैर्य गरौँ !’
निर्वाचन आयोगले राति सार्वजनिक गरेको मत परिणामअनुसार उमेहद पक्षधरले खुला पक्षधरलाई २१ मतले हराएको हो । उमेर हद लगाउने कि खुला गर्ने भन्ने विवाद अन्त्य गर्न शनिबार निर्वाचन भएको थियो । कूल २३९८ मतदातामध्ये १७७९ जनाले मत खसालेको थियो । जसमा ३२ वर्ष उमेरहद लागु गर्नु पर्छ भन्ने पक्षमा ९०० मत र विपक्षमा ८७९ मत परेको थियो ।