बाराक ओबामाले भने- मंगल ग्रहमा जानुभन्दा पृथ्वी जोगाऔँ

0 Shares

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले मानिसले मंगल ग्रहमा उपनिवेश बनाउने सपना देख्नुअघि पृथ्वी बचाउनु पर्ने बताएका छन् ।

बुधबार पेरिसमा भएको शिखर सम्मेलनमा उनले आणविक युद्ध र जलवायु परिवर्तनले पनि रातो ग्रह (मंगल)लाई बस्न योग्य बनाउन नसक्ने बताए ।

नवीकरणीय ऊर्जा सम्मेलनमा बोल्दै ओबामाले मानवलाई मंगल ग्रहमा लैजान अर्बपतिहरूले अन्तरिक्ष यान निर्माण गरिरहेका उल्लेख गरे । उनले भने,’केही मानिसहरू मंगल ग्रहमा जीवन बसाउने कुरा गर्छन्, किनभने तिनीका अनुसार पृथ्वीको वातावरण यति खराब हुन सक्छ कि बस्न योग्य नहुन सक्छ ।’

ओबामाले थप भने, ‘पृथ्वीमा परमाणु युद्ध भए पनि यो मंगल ग्रहभन्दा बढी बस्न योग्य हुनेछ, जलवायु परिवर्तनका सम्बन्धमा हामीले कुनै कदम चालेनौँ भने पनि पृथ्वीमा अक्सिजन रहने छ, तर मंगल ग्रहको बारेमा पनि यही भन्न सकिँदैन ।’

पूर्व अमेरिकी राष्ट्रपतिका अनुसार हामीले मंगल ग्रहको सट्टा यस पृथ्वीको सुधार र हेरचाहमा पैसा खर्च गर्नु पर्ने छ । अन्तरिक्ष अन्वेषणको उद्देश्य जानकारी संकलन गर्नु भएको भन्दै उनले यस समयमा मानिसहरू बस्नका लागि नयाँ संसार सिर्जना गर्ने कुरामा ध्यान दिन नहुने बताए ।

एलोन मस्कले शक्तिशाली रकेट निर्माण गर्दै

स्पेसएक्स कम्पनीका मालिक एलोन मस्कले विश्वको सबैभन्दा शक्तिशाली स्टारसिप रकेटको परीक्षण गरिरहेका छन् । यो पुनस् प्रयोगको रकेट हो । यसमार्फत मस्कले मानवलाई मंगल ग्रहमा पठाउने छन् । स्टारसिपले एकैसाथ सय जनालाई मंगल ग्रहमा लैजान सक्ने छ ।

मस्कले सन् २०२९ सम्ममा मंगल ग्रहमा मानिस पठाउन र त्यहाँ उपनिवेश स्थापना गर्न चाहन्छन् । अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनासम्म पुर्‍याउन पनि सक्षम हुनेछ ।

मंगल ग्रहमा उपनिवेश स्थापना गर्न के आवश्यक ?

मंगल ग्रहमा उपनिवेश स्थापना गर्नु पर्ने आवश्यकताबारे एलोन मस्क भन्छन्- ‘पृथ्वीमा जीवन समाप्त हुने घटनाले मानवताको अन्त्य हुन सक्छ, तर यदि हामीले मंगल ग्रहमा आफ्नो आधार बनायौँ भने मानवता त्यहाँ बाँच्न सक्छ ।’

मस्कका अनुसार परमाणु युद्ध वा क्षुद्र ग्रहको टक्करका कारण पृथ्वीको अस्तित्व खतरामा पर्न सक्छ । यस्तो अवस्थामा हाम्रा लागि सबैभन्दा उपयुक्त ग्रह मंगल हो ।

यसबाट मानिसले आफ्नो विनाशलाई रोक्न सक्छ । लाखौँ वर्षपहिले डायनासोरको पनि जीवन समाप्त हुने घटनाका कारण पृथ्वीमा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार