साताको अन्तिम कारोबार दिन नेप्सेमा गिरावट, परिसूचक २७.८४ अंक घटेर २०८०.८७ विन्दुमा झर्याे

0 Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन जारी रहेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबारदेखि करेक्सन भएको बजारमा यस दिन पनि सोही क्रमले निरन्तरता पाएको हो।

गत साताको बुधबारदेखि नेप्से परिसूचक निरन्तर चार कारोबार दिन बढेको थियो। सोही मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न हिजो र आज नेप्सेमा करेक्सन भएको हो।

बिहीबार नेप्से परिसूचक २७.८४ अंक घटेर २०८०.८७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंक घटेको छ।

नेप्सेसँगै यस दिन भोल्यूम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ६६ हजर १०७ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा करेक्सन भएपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने गोर्खाज फाइनान्सको ८.०८ प्रतिशत बढेको छ। यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.०२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अप्पर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको कारोबार रकम १६ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २.०९ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सम्बन्धित समाचार