काठमाडौँ । नेकपा माओवादी केन्द्रको उम्मेदवारलाई पराजित गर्न रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको छ ।
यसअघि सम्पन्न आम निर्वाचन माओवादीका उम्मेदवारलाई पराजित गर्न तालमेल भएको थियो । पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडाध्यक्षमा साझा उम्मेदवार बनाएर उम्मेदारी दर्ता गरेर सत्ता गठबन्धनले चुनाव लड्ने भएको हो ।
यस क्षेत्रका लागिएमाले उम्मेदवार केशकुमारी तुलाचनले कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिएकी छन् । उनी एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्य हुन् ।
यस्तै, वडामा सूर्य चुनाव चिन्हमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोका साझा उम्मेदार बनेका छन् । सहमति पत्रमा कांग्रेस जिल्ला सभापति केशरमान रोका र एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् ।
गत निर्वाचनमा यी दुवै स्थानमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा निर्वाचित भएकी थिइन् । वडा नम्बर २ का माओवादीकै जसबहादुर श्रीपाली विजयी भएका थिए । उनीहरू दुवै जनाको एकसाथ दुर्घटनामा परी मृत्यु भएको थियो ।