काठमाडौँ । नेकपा एमालेले जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा उम्मेदवारी नदिने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको निधनसँगै रिक्त रहेको पदमा एमालेले सत्ता साझेदारी दल नेपाली कांग्रेसलाई साथ दिने भएको हो ।
कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्ता गठबन्धन दल कांग्रेस र एमालेको जिल्ला स्तरीय बैठकमा कांग्रेसलाई सघाउने सहमति भएको हो ।
जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख र उपप्रमुखमध्ये कांग्रेसको तर्फबाट पाँच पालिका प्रमुख र चारमा उपप्रमुख गरी नौ जनाले जितेका छन् ।
एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन् । जिससका मतदातामा पालिकाका प्रमुख र उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ ।
एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार भट्टराई सर्वसम्मत जिसस प्रमुख बन्ने भएका छन् । आठ स्थानीय तह रहेको ओखलढुङ्गामा नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेसकै बहुमत रहेको छ ।