कम्पनीमा लागेको आगो दुई दिनपछि निभाइयो, पन्ध्र करोड क्षति

0 Shares

काठमाडौं । झापाको ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो बुधबार निभाइएको छ । उद्योगमा लागेको आगो आज अपराह्न नियन्त्रणमा आएको हो ।

काठको विशाल घाट गद्दी भएको कारण आगो निभाउन ६० घण्टाभन्दा बढी समय लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट १५ करोडको भौतिक सम्पत्ति क्षति भएको छ । उनले आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्ण रुपमा क्षतिग्रस्त भएको बताए । भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई खरानी भएको छ ।

नेपालकै ठूलो मानिएको उक्त प्लाइउड उद्योगमा एक हजार २०० मजदुर कार्यरत छन् । त्यहाँ उत्पादित सामान विदेशमा निर्यात हुने गरेको छ ।

आगलागीको खबर प्राप्त हुनेबित्तिकै १२ वटा दमकलले आगो निभाउने निरन्तर प्रयास गरिरहेका थिए । काठको गोलियामा दन्किएको आगो निभाउन कठिन भएको थियो । आगो निभाउन भारतबाट पनि दमकल मगाइएको थियो ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख मिलन केसीले आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताए ।

सम्बन्धित समाचार