रेशमले स्ट्याटस लेख्दा सँगै थिएँ, फरक विचारले परिवार फुट्दैन : अध्यक्ष रञ्जिता श्रेष्ठ

0 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीसँग वैचारिक मतभेद रहेको स्वीकारेकी छिन् । तर, फरक विचार भएकै कारण आफूहरुको परिवार नफुट्ने उनको प्रष्टीकरण छ ।

नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए । दिउँसो संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै रञ्जिताले बिहान रेशमले स्ट्याटस लेख्दा आफूँसँगै रहेको बताइन् ।

‘हिजो हाम्रोबीचमा छलफल भएको थियो । म र रेशमजीले पार्टीगत रुपमा बसेर छलफल गरेका थियौं । त्यही अनुसार उहाँले लेख्नुभएको हो’ रञ्जिताले भनिन् । आफूहरुका बीचमा फरक विचार भएकै कारणले परिवार नफुट्ने पनि उनले बताइन् ।

‘पार्टीगत रुपमा उहाँ र मेरो मत फरक फरक भएको हो । तर, परिवार छुट्टै कुरा हो । पार्टी छुट्टै कुरा हो । फरक विचारले परिवार फुट्दैन’ रञ्जिताले दोहोर्‍याइन्, ‘उहाँ (रेशम चौधरी)ले स्ट्याटस लेख्दा म सँगै छु ।’ आफूहरुको पारिवारिक सम्बन्धमा कुनै समस्या नरहेको पनि उनले बताइन् । आफूहरु २५ वर्षदेखि सँगै रहेको भन्दै उनले थपिन्, ‘परिवारका हाम्रो त्यस्तो केही पनि छैन ।’

पार्टीमा फरक–फरक विचार बोकेकाहरु जोडिने भएकाले त्यसको समुचित रुपमा निरुपण हुने र हुँदै जाने पनि रञ्जिताको भनाइ छ । यसअघि, नाउपाले टिकापुरको कैलालीमा गरेको महाधिवेशनले रेशम चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएको थियो । तर, चौधरी फौजदारी अभियोगमा दोषी ठहर भइ कैद भुक्तान गरेको व्यक्ति भन्दै निर्वाचन आयोगले महाधिवेशनको निर्णय अनुसार पार्टीको अभिलेख अद्यावधिक गरिदिएन ।

निर्वाचन आयोगले पार्टी अध्यक्षमा अस्वीकृत गरिदिएको विषयलाई रेशमले समेत स्वीकार गरिसकेको रञ्जिताले बताइन् । ‘महाधिवेशन गरेर रेशमजीलाई सर्वसम्मत रुपले अध्यक्ष स्वीकारेको हो । तर, निर्वाचन आयोगले दिएको निर्णय रेशमजीले पनि मानिसक्नुभको छ । किनभने नीति, कानुन भन्दा माथि कोही पनि हुँदैन ।’

अन्तिममा एक जना पत्रकारले फेरि रञ्जितालाई प्रश्न गरे, ‘नाउपा श्रीमानको पार्टी हो कि श्रीमतीको ?’ त्यसमा रञ्जिताले नाउपा जनताको पार्टी भएको जवाफ फर्काइन् ।

सम्बन्धित समाचार