मह बेचेर वार्षिक १५ लाखसम्म बढी आम्दानी

0 Shares

काठमाडौँ । जिल्लाको जैमिनी नगरपालिका ७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् । मौरीपालनबाट उनले वार्षिक १२ देखि १५ लाखसम्म आम्दनी गरिरहेका छन् ।

घर्कंदो उमेरमा उनी हट्टाकट्टा देखिन्छन् । काम गर्ने जोस जाँगर पनि उनीसँग युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ ।

उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उनले विं.सं. २०५० देखि व्यावसायिक रुपमा मौरीपालन गर्न थालेका हुन् ।

तीन दशक मौरीपालन गरेका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागती खेती समेत गर्न थालेको बताउँछन् । उनको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ ।

उनले सुन्तलका तीन सय र कागतीका एक सय ५० बोट लगाएका छन् । ती बिरुवाले विस्तारै फल दिन थालेको उनले सुनाए । जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आएका छन् ।

उनी अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि हुन् । आफूले जानेको ज्ञान सीपलाई किसान माझ पुर्याउँदा उनीहरुलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गरे ।

“विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागेँ”, उपाध्यायले भने, “मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु, कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नु हुन्छ ।”

मह प्रतिकेजी एक हजार तीन सयमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उनको भनाइ थियो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोहोत्सान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताए । किसानलाई आवश्यक अनुदान, मल, बीउ, तालिम र प्राविधिक सहयोग गर्दै आएको उनले बताए ।

पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माले बताउँछन् ।

सम्बन्धित समाचार