काठमाडौँ । फ्रान्सको सामुद्रिक तट हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुंगा डुब्दा एक बालकको मृत्यु भएको छ ।
अधिकारीका अनुसार डुंगा फ्रान्सेली सहर विसान्टमा दुर्घटना भएको थियो । उद्धारकर्मीले अन्य ६५ जनालाई सकुशल उद्धार गरेका छन् । पछिल्लो डुंगा दुर्घटनासँगै यस वर्ष च्यानल पार गर्ने प्रयास गर्दा ज्यान गुमाउने आप्रवासीको संख्या कम्तिमा ५२ पुगेको छ । सन् २०१८ पछिको सबैभन्दा धेरै रेकर्ड हो ।
उक्त स्थानमा गत सेप्टेम्बर ३ मा पाँच जना बालबालिका र पाँच जना वयस्कहरूको मृत्यु भएको स्रोतले जनाएको छ । त्यसको एक महिनापछि सामुद्रिक च्यानलको मार्ग हुँदै जोखिमपूर्ण यात्राका क्रममा ओभरलोड भएका डुंगा दुर्घटना हुँदा एक जना बालक तथा तीन वयस्कको मृत्यु भएको जनाइएको छ ।
बेलायतको सरकारी तथ्यांकअनुसार यस वर्ष आप्रवासी डुंगामा खतरनाक यात्रा गरी बेलायत पुग्ने आप्रवासीको औसत संख्या ५३ रहेको छ । बेलायतको गृह मन्त्रालयको तथ्यांकअनुसार यस वर्ष जनवरी १ देखि हालसम्म २६ हजारभन्दा बढी आप्रवासी समुद्र पार गरी बेलायती पुगेका छन् ।