काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको हो । सर्वोत्तम सिमेन्ट लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाण्डौलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
यससँगै उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य एनआइएमबि एस क्यापिटल लाजिम्पाट मार्फत हुनेछ । फागुन २५ गते शुक्रबारदेखि नै कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू हुनेछन् ।
सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ्ग विधिबाट फागुन १३ देखि १६ गतेसम्म सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ जारी गरेको हो । फागुन २५ गते भएको कम्पनीको सेयर बाँडफाँडमा ५५ हजार ५२१ जनाले गोलाप्रथाबाट सेयर प्राप्त गरेका छन् । २६ जनाले ५१ कित्ताका दरले आईपीओ हात पार्दा ५५ हजार ४९५ जनाले ५० कित्ताका दरले सेयर पाएका छन् ।