छोरीले कलेजो दिएपछि बुवाले पाए नयाँ जीवन

0 Shares

काठमाडौं । पोखरा महानगर ३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेले छोरीको कलेजोबाट नयाँ जीवन पाएका छन् ।

विं.सं. २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो ।

एक वर्षदेखि उनलाई रोगले बढी च्याप्न थालेको थियो । अवस्था गम्भीर भएपछि लामिछानेको कलेजो क्षतिग्रस्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रूपमा प्रत्यारोपण गर्न सुझाव दिए ।

कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उनको अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नु पर्ने र यसबाट खर्चसमेत कम हुने भएकाले उनले परिवारसँग सल्लाह गरे ।

तीन छोरी र दुई छोराका बाबु लामिछानेको कलेजो प्रत्यारोपणका लागि परिवारमा छोरा–बुहारीसँग रक्त समूह मिलेन । रोगले दिनानुदिन च्याप्दै गएपछि प्रत्यारोपणका लागि उपयुक्त व्यक्ति नपाउँदा लामिछानेले जीवनको आश मारिसकेका थिए ।

अन्तिममा उनकी जेठी छोरी पोखरा ३० पावरहाउस बस्ने रञ्जना लामिछाने बरालको रक्तसमूह मिलेर प्रत्यारोपण गर्न मिलेको थियो ।

त्यसका रञ्जनाको घरबाट समेत स्वीकृति मिल्यो । रञ्जना बाबुको जीवन बचाउन जोखिम उठाए र आफ्नो कलेजो बाबुलाई दिन तयार भइन् ।

आफ्नो कलेजो दिएर बुबालाई नयाँ जीवन दिन रञ्जना तयार भएपछि लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

कलेजो रोगका कारण थलिएर जीवनमरणको दोसाँधमा उभिएका लामिछानले छोरीले कलेजो दिएपछि पुनर्जीवन पाएका हुन् । छोरी रञ्जनाले आफ्नो कलेजो दिन तयार भएको र अहिले बाबुछोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छोरा सुशीलले बताए ।

आफ्नो कलेजो बुवासँग मिल्नु र प्रत्यारोपण कार्य सफल भएपछि रञ्जना खुसी भइन् । बाबुआमाका लागि जस्तोसुकै अप्ठ्यारो र दुःखमा साथ दिनु पर्ने छोराछोरीको कर्तव्य आफूले पूरा गर्न पाउँदा धेरै खुसी लागेको दिदीले भनेको सुशीलले बताए ।

दिदीलाई एक हप्ता र बुवालाई दुई हप्ताजति अस्पतालमा राख्नु पर्ने चिकित्सकले बताएको जानकारी दिए ।

सम्बन्धित समाचार