काठमाडौं । पार्टी कार्यकर्ता तथा शुभचिन्तकको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ ।
हेटौँडा उपमहानगर ८ मा एकतले चार कोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो । भवनको आज उद्घाटन गरिएको छ ।
नेकपा एमाले हेटौँडा ८ नं वडा कमिटीले आफ्ना कार्यकर्ता तथा पार्टी सदस्यसँग रकम संकलन गरेर भवन निर्माण गरिएको एमाले जिल्ला कमिटीका सदस्य तथा भवन निर्माण समितिका संयोजक कुमार केसीले बताए ।
उक्त भवन कूल २० लाखको लागतमा निर्माण गरिएको उनले बताए । भवनको उद्घाटन एमाले बागमती प्रदेश कमिटीका सदस्य गोपाल बहादुर श्रेष्ठले गरेका थिए ।
सोही अवसरमा श्रेष्ठले कार्यकर्ताले चाहे भने सहयोग जुटाएर पनि विकास–निर्माणको काम गर्न सकिने बताए । भवन बनेपछि अब भवनबाटै पार्टीका गतिविधि सञ्चालन गर्न सहज मिल्ने उनले बताए ।
एमाले मकवानपुरका अध्यक्ष बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, पार्टी कार्यालय सचिव राजन थापा, जिल्ला सदस्यहरू यशोदाकुमारी उप्रेती, सानु लामा, दीपक खड्का, नरेन्द्र भण्डारी, आरती पाठकलगायत उपस्थित थिए ।