काठमाडौँ। यातायात व्यवसायीहरूले हालै खुलाएको सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन्। यातायात व्यवस्था विभागको समन्वयमा गत शनिबार (१२ असोज) देखि अग्रिम बुकिङ खुला गरिएको थियो, तर बाढीपहिरोले देशभरका विभिन्न सडकहरूमा क्षति पुगेका कारण गाडी सञ्चालनमा कठिनाइ भएको भन्दै व्यवसायीहरू बुकिङ बन्द गर्न लागेका हुन्।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार १२ असोजमा आएको विपद्का कारण बसहरू सञ्चालन गर्न नसकिने अवस्था छ, जसले गर्दा बुकिङ बन्द गर्नु पर्ने देखिएको छ। उनले भने, हामी आजै सरकारसँग छलफल गर्दैछौं, र बुकिङ बन्द गर्ने तयारीमा छौं। हिजो २ बजे निस्केका गाडीहरू अझै स्वयम्भू, कलंकी, र नागढुंगामा रोकिएका छन्, यस्तो अवस्थामा बुकिङ गर्नुको औचित्य छैन।’
महासंघको आज बस्ने बैठकले सरकारसँग छलफल गरी बुकिङ बन्द गर्ने निर्णयमा पुग्ने संभावना छ। हालसम्म धेरै यात्रुले १७ असोजदेखि हुने यात्रा लागि टिकट बुक गरिसकेका छन्, तर आगामी छलफलपछि यसबारेको निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरिने बताइएको छ।
१२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्याएको छ। सडक र पुलमा भएका क्षतिका कारण सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको छ। सोमबारदेखि काठमाडौं बसपार्कबाट गाडीहरू निस्किए पनि गन्तव्यमा पुग्न सकेका छैनन्। अरनिको राजमार्ग लगभग पूर्णरूपमा अवरुद्ध छ।
घटस्थापनाको दिनदेखि अग्रिम टिकट बुकिङ खुलाइएको भए पनि व्यवसायीहरूका अनुसार, यसबेलासम्म बस सञ्चालन हुने अवस्था देखिएको छैन।