0
Shares
काठमाडौं । इराकको अर्ध स्वायत्त कुर्दिस्तान क्षेत्रको दुहोक प्रान्तमा शुक्रबार टर्किएले गरेको हवाइ आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।
साथै अर्का एक जना घाइते भएको कुर्दिश सुरक्षा स्रोतले जनाएको छ । उक्त प्रान्तको शिलादजे क्षेत्रस्थित गाउँ नजिकैको पहाडमा जडिबुटी संकलन गर्दा बिहानै टर्किएको विमानले उनीहरूमाथि बमबारी गरेको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।
टर्किए सेनाले प्रायः उत्तरी इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लडाकुविरुद्धको कारबाहीलाई तीव्र पारेको छ । कारबाही विशेषगरी समूहको मुख्य आधार रहेको कन्डिल पर्वतमा केन्द्रित गरेको छ ।
टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले ३ दशकभन्दा बढी समयदेखि टर्किए सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।