काठमाडौँ । नेपालीहरूको महान पर्व दशैँ नजिकिँदै जाँदा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ ।
साताको पहिलो कारोबार दिनदेखि रेकर्ड बनाउँदै आएको सुनको मूल्यले साताको पाँचौँ कारोबार दिन पुग्दासम्म नयाँ रेकर्ड बनाउँदै आएको छ ।
अघिल्लो कारोबार दिन प्रतितोला ७०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा आज ३०० रुपैयाँले बढ्दै प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत असोज ६ गते एक लाख ५८ हजार ८०० पुगेर नयाँ रेकर्ड कायम भएको सुनको मूल्यले दैनिक रेकर्ड बनाउने क्रमलाई निरन्तरता दिइरहेको छ । यसअघि हिजो मात्रै प्रतितोला एक लाख ६० हजार ४०० सय रुपैयाँ कायम गरेको नयाँ रेकर्ड आज ब्रेक भएको हो ।
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेका दिन अर्को बहुमुल्य धातु चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला एक हजार ९५५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।