काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका मन्त्रीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।
‘नियुक्त भएर आउनुभएका मन्त्रीहरू कुनै पनि ठाउँबाट कुनै पनि किसिमको अनुसन्धानको दायराभित्र नपरेका होलान् भन्ने आशा गरेको छु,’ उनले भने, ‘यदि परेका छन् भने त्यसपछि सदन के हुन्छ भन्ने कुराको जवाफ पनि प्रधानमन्त्रीले दिँदा राम्रो हुन्छ भन्ने मेरो आग्रह छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान गरिरहेको छ । उनीबारे राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ।
सँगै प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले पनि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानबिन गरिरहेको छ। लेखकले उक्त कुराप्रति इंकित गर्दै लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको विषयमा जवाफ मागेका हो ।