काठमाडौँ । झापामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा धेरै बिरामी परेका छन्।
अर्जुनधारा नगरपालिका-९ खरबन्दीका स्थानीय बासिन्दा सत्यनारायणको पूजाको प्रसाद खाँदा बिरामी परेका हुन्। अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गकुमारी पराजुलीले दिएको जानकारीअनुसार धेरै बिरामीको अहिले शनिश्चरेमा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ।
‘केही बिरामीको बिर्तामोड र चारआलीमा पनि उपचार भएको जानाकारी आएको छ,’ उनले भनिन्, ‘बिरामीको यकिन संख्या त संकलन भएको छैन। तर, ५० जना भन्दा धेरै नै बिरामी भएका छन्।’ गएको मंगलबार स्थानीय रीता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाएकाहरु बिरामी परेका हुन्।
पूजामा प्रसाद खानको लागि निरौला परिवारले छरछिमेकलाई निमन्त्रणा गरेका थिए। आफन्त र छिमेकी गरेर झण्डै ५५/६० जनाले पूजाको प्रसादी खाएका थिए।
प्रसादी खाने सबै बिरामी परेका उपप्रमुख पराजुलीले बताइन्।
‘दिउँसो प्रसादी खाएकाहरु रातिदेखि नै बिरामी पर्न थालेछन्’, उनले भनिन्, ‘हामीले हिजो नगरअस्पतालमा गएर बिरामीहरुलाई भेट्यौँ। प्रसादीमा सेल, अचार, तरकारी खाएको भन्नेछ। फूड प्वाइजन हुँदा प्रसादी खानेहरु बिरामी भएको अनुमान हामीले गरेका छौँ।’
प्रभावित क्षेत्रमा आज जनस्वास्थ्य कार्यालय झापाबाट स्वास्थ्यकर्मीको टोली जान लागेको उनले बताइन्। बिरामीमा वान्ता र डाइरिया हुने, ज्वरो आउने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएको छ। उपचारपछि ठिक भएर घर फर्किएका कतिपय बिरामी फेरि समस्या दोहोरिएपछि अस्पताल पुगेका छन्।
तर जिल्ला प्रहरी कार्यालय झापाले भने पूजाको प्रसाद खाएर कोही बिरामी परेको जानकारी नआएको जनाएको छ।