काठमाडौँ । बुद्ध एयरको एटीआर ४२ (नाइन एन-एआईएन) विमानको बिदाइ भएको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले आफ्नो एटीआर ४२ विमानको बिदाइ गरेको हो ।
बुद्ध एयरका अनुसार सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको विमानले अन्तिम माउण्टेन फ्लाइट गरेर बिदाइ गरिएको हो ।
बुद्ध एयरले १६ वर्षको सेवापछि विमान उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । यो विमानलाई ७० हजार उडान साइकलपछि एटीआर ४२-३२० नाइन एन-एआईएन विमानको बिदाइ गरिएको हो ।
नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ । ४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो । सन् १९९५ मा बनेको विमान नेपालमा ल्याउनुभन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको भए पनि नेपालमा ल्याएर १६ वर्ष सेवामा लगाइएको थियो ।
बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्याण्ड गर्दै १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । एक टेकअफ र ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ ।
एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेकोमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन-एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ ।