काठमाडौँ । सरकारीको रकम अपचलनमा मुछिएसँगै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले खण्डन गरेका छन् । उनले यसबारे आफूलाई केही थाहा नभएको दाबी गरेका हुन् ।
श्रीमतीसँग अलग भइसकेको बताउँदै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका हुन् । श्रीमतीले सहकारीमा काम गरेको स्वीकार गर्दै आफ्नो कुनै सम्बन्ध नरहेकाले नाम जोड्नु गलत भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘तत्कालीन मेरी श्रीमती ज्योति गुरूङ महालक्ष्मी स्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन्, निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन, जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। साथै निज ज्योतिजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतिजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु,’ उनले भने ।
सहकारी अपचलनबारे छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै उनले अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न आग्रह गरे ।