काठमाडौँ । धनकुटाको पाख्रिबास नगरपालिका ४ डिकुरेका अर्जुन कार्की मोरङको सुन्दरहरैंचामा बस्दै नयाँ घर बनाउँदै थिए ।
गत शुक्रबार भोजपुरबाट फर्किंदा परिवारका लागि माछा लिएर फर्किंएका थिए । घरमा आइपुगेपछि श्रीमतीसँग विवाद सुरु भयो । विवादको कारण थियो बन्दै गरेको घरमा पानी किन नहालेको ?
श्रीमानसँग विवाद भएपछि अस्मिता दुई छोरीहरू एक वर्षीय आइका र तीन वर्षीय अर्पणालाई लिएर राति करिब ८ बजे डेराबाट निस्किइन् ।
भोलिपल्ट दुवै छोरीको अंगालो मारेको अवस्थामा शव भेटियो । शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीमा भेटिएको शव उनै अर्जुनको छोरीहरू थिइन् । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल पनि भेटियो । तर, अस्मिता बेपत्ता थिइन् ।
अर्जुनले प्रहरीलाई बताएअनुसार अस्मिताले ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि रातिदेखि नै उनीहरूको खोजी सुरु भयो । प्रहरीलाई खबर गरियो ।
चार दिन खोजी गर्दा महिला झापाको बिर्तामोडमा फेला परेकी छन् । उनी मानसिक रुपमा विक्षिप्तावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
अस्वस्थ अवस्थामा फेला पारेकी उनलाई कोशी अस्पताल विराटनगरमा लगिएको छ । उनको उपचार भइरहेको छ । दुई छोरीको हत्या कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।