काठमाडौँ । मुग्लिनबाट नारायणगढ खण्डमा तीन वटा सवारी साधन एकापसमा ठक्कर खाएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार तीन वटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
भरतपुर महानगर २९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ११ च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश ०३-००१च १७७० नम्बरको जिप र ग २ च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो । दुर्घटनामा तीन वटै सवारी साधनमा क्षति पुगेको छ ।
यस्तै, आज बिहानै सोही सडक खण्डमा बस र ट्रक ठक्कर खाँदा तीन जना घाइते भएका छन् । भरतपुर महानगर २९ सिमलतालमा एआर ०१ टी ६३७२ नम्बरको भारतीय बसले ग २ ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।
मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।