काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा आफूविरुद्ध नारा लागेपछि रिसाएका छन् । सुदूरपश्चिममा मानिने गौरा पर्व मनाउन टुँडिखेल पुगेकाहरूले नारा लगाएपछि देउवा रिसाएका थिए ।
गौरा पर्वको शुभकामना दिन मञ्चमा पुगेसँगै उपस्थित युवाहरूले उनीविरुद्ध नारा लगाएका थिए । यस क्रममा देउवाले ‘हल्ला गर्दै गर्नुस्, म आफ्नो कुरा राख्छु’ भनेका थिए ।
‘लाज छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको हो, बदमासहरू,’ थर्काउँदै देउवाले भने ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले गौरा पर्व बिथोल्ने घुसपैठ भएको दाबी गरे । ‘यहाँ गौरा पर्व मनाउन आएका छन्, यहाँ न अरूको कुरा सुन्छन्, न देउडा खेल्न दिन्छन्, अरूको कार्यक्रम बिथोल्नेहरू छन्,’ देउवाले थपे, ‘यस्तालाई जनताले ठिक पार्नु पर्छ ।’
देउवाले सुदूरपश्चिमको संस्कृतिलाई चिनाउन गौरा पर्व महत्वपूर्ण रहेको बताए ।