काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्न आज पृथ्वी राजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै राजमार्ग अवरुद्ध हुनेबारे जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले दुर्घटनापछि मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न ठूला मेसिनरी उपकरणको आवश्यक पर्ने भएकाले राजमार्ग बन्द गरी बस निकाल्न लागिएको हो ।
आज बिहान ६ः३० देखि १० बजेसम्म राजमार्गको खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिने छ । दुर्घटनाग्रस्त बसलाई सुरक्षित रूपमा नदीबाट निकालेर मात्र यातायात पुनः सुरु गरिने प्रशासनले जनाएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शक्रबार मर्स्याङ्दी नदीमा खसको थियो । घटनामा २७ जना भारतीय नागरिकले ज्यान गुमाएका थिए ।
दुर्घटनामा घाइते भएका १६ जनालाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।