काठमाडौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विशेष महाधिवेशन हुने बताएका छन् । २०७८ सालको पुसमा महाधिवेशन सकिएपछि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने अध्यक्ष प्रचण्डले बताएका थिए ।
अहिले सरकारबाट बाहिरिएपछि बसेको पदाधिकारी, स्थायी समिति र प्रदेश स्तरका परामर्श समिति बैठकमा पार्टीको विशेष महाधिवेशन हुने बताउने गरेको एक नेताले बताए । तर, विशेष महाधिवेशन कहिले र कसरी गर्ने प्रचण्डले खुलाएका छैनन् । असोज पहिलो साता केन्द्रीय समिति बैठक सकिएपछि विशेष महाधिवेशनको मिति तोकिने नेताहरूले बताएका छन् ।
पार्टी बैठकमा समेत नेताहरूले विशेष महाधिवेशन तत्काल गर्न माग राखेका छन् । तर, कतिपय नेताहरूले नियमित महाधिवेशन गर्ने समय नजिकिएकाले विशेष महाधिवेशन गर्न नहुने मत राखेका छन् । अब यो विषय केन्द्रीय समिति बैठकसम्म आउँदा सबै स्पष्ट हुने नेताहरूले बताएका छन् । शनिवार समेत उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक बसेर सकिने भएको छ ।