काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुट्नका लागि बनेको दाबी गरेका छन् । मधेसवादी दलको भ्रष्ट चरित्रले मधेस बदनाम भएको उनको भनाइ थियो ।
बाराको खुटुवा प्रसौनीमा आजपाद्वारा आज आयोजित भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुट्न, ठग्नका लागि मधेस सरकार र मधेसवादी दलका नेताहरूको पेशा बनिसकेको ठोकुवा गरे ।
‘छोरीलाई वितरण गरिने साइकल चोरेका छन्, दलितको घर निर्माणमा भ्रष्टाचार गरेको, राहतको पैसा लुटेका छन् यी भ्रष्ट र चोर नेताहरूको पेशा भएको छ,’ अध्यक्ष साहले भने, ‘भ्रष्टाचार र लुटमा पीएडी गरेका यी भ्रष्ट र चोर नेताहरूले मधेसको व्यापार गरेर मधेसलाई नै बदनाम गरिसकेका छन् ।’
किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गरेका लुटेराहरुले मधेसलाई समृद्ध बनाउने काम गर्नै नसक्ने साहले बताए । कुनै सरकारको काम भनेको देश र जनताका लागि विकास, समृद्धि जस्ता राम्रो काम गर्नु भए पनि मधेस सरकारले हरेक योजनामा लुट मचाएको उनले भनाइ थियो ।
मधेसलाई समृद्ध बनाउने हरेक किसिमको सम्भावना रहेको बताउँदै उनले त्यसलाई सदुपयोग गर्न नसकेको आरोप लगाए । ‘मधेस प्रदेशलाई देशको मोडेल प्रदेश बन्ने सम्पूर्ण सम्भावना हुँदा हुँदै भ्रष्ट नेताका कारण नेताहरु बदनाम भएका छन्’ साहले भने ।
भ्रष्ट नेताहरुको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्रविरुद्धको जनआन्दोलनको तयारीमा जुट्न आह्वान गरे ।