काठमाडौं
नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरी नयाँ कानुन नै बनाउन लागिएको बताएका छन् ।
बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानीमा उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको सङ्गठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताए ।
गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ काम गरेको बताए । उनले वर्तमान सरकार गठन भएको बताउँदै लेखकले ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकामा जोड दिएका छन् ।
गृहमन्त्रीले भने, “नेपाल प्रहरीको ऐन ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जनक आवश्यक छ । नयाँ कानुन निर्माण तथा सङ्गठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ । नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ ।”