माओवादी र एकीकृत समाजवादीलाई विश्वासमा लिएर जान्छौँ- देउवा

0 Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई विश्वासमा लिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरु नमिलेको समेत स्पष्ट बनाएका थिए । यस क्रममा उनले माओवादी र एकीकृत समाजवादीलाई साथमा लिएर अगाडि जाने बताएका हुन् ।

‘ओली जी र मबीच भएको सहमति सार्वजनिक छ, त्यो केही कुरा लुकाउनु पर्ने छैन, सबैसँग सल्लाह गरेर गर्ने कुरा हो, त्यसैले कसैले शंका गर्नु पर्ने छैन,’ उनले भने, ‘ओली जीसँग धेरै सोची विचारी गरेको सहमति हो, दुई पार्टी मिले भइहाल्छ नि भन्थे हामीले अरुलाई पनि समेटेका छौँ, अरुको खिलाफमा हुँदै होइन ।’

कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस र एमालेबीच मध्यरात गरेको सम्झौताका कारण आशंका उत्पन्न भएको बताए । उनले संविधान संशोधन गर्ने भए खुला छलफल गर्न आग्रह गरेका थिए ।

सम्बन्धित समाचार