काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज(मंगलबार) विश्वासको मत लिने भएका छन् । लुम्बनी प्रदेश दाङ देउखुरी स्थित प्रदेश सभाबाट आज दिउँसो १ बजे आचार्यले विश्वासको मत लिने कार्यसूचि तय गरिएको हो ।
नेपाली कांग्रेस सहित गठबन्धनबाट नेकपा एमालेबाट आचार्य गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका छन् । दल नेता चयन भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन थालेका हुन् । कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने निश्चित छ ।
आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेले ह्वीप जारी गरेका छन् । मुख्यमन्त्री आचार्यलाई प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये सरकारमा जान चाहेका जसपाका २, जसपा नेपालका एकजना र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।