काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण देशमा खुसी ल्याएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकमा राजनीतिक स्थिरता हुन नसक्दा जनताहरू निराश भएको भन्दै ठूला दल मिलेर सरकार बनाउनु परेको बताए ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनको भनाइ थियो । उनले शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुत गतिमा अगाडि बढाउन अहिलेको सरकार सफल हुने उनको दाबी थियो ।
गृहमन्त्री लेखकले संविधान संशोधनको विषयलाई एजेण्डा बनाएको भन्दै संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताए ।
सरकार बनेको एक महिनामा १८ वर्षसम्म रुमलिएको संक्रमण कालीन न्याय सम्बन्धि कानून (टीआरसी)लाई संसदबाट पारित गरिसकेको भन्दै चाँडै संक्रमण कालीन न्यायको विषयलाई सम्बोधन गरिने उनको भनाइ थियो ।