0
Shares
काठमाडौं । महाशिवरात्री पर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन मासु, मदिरा, नशालु पदार्थ बेचबिखन तथा सेवनमा निषेध गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै फागुन २३ देखि २७ गतेसम्म कसैले मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन नगर्न सूचना जारी गरेका हुन् ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्ण रूपमा रोक लगाएको हो । गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क, उमाकुण्ड, गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिणभित्रका भागमा निषेध गरेको हो । यस सूचनाविपरीत काम गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।