काठमाडौँ
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी स्थायी समिति बैठकमा शनिवार बोल्ने क्रममा पार्टी बलियो बनाउन सबै नेताले सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
पार्टी स्थायी समिति बैठकमा शर्माले बुँदागत रूपमा सङ्गठन निर्माणका बारेमा लिखित रूपमा प्रस्तुत गरेको एक स्थायी समिति सदस्यले बताए । यसअघि समेत उठ्दै आएको नेताको सम्पत्ति सार्वजनिक गर्नुपर्ने विषय शर्माले स्थायी समिति बैठकमा उठाएको ती नेताले बताए । शर्माले प्रस्तावित कार्यक्रम अनुरूप वैचारिक स्पष्टता कायम गर्ने, पार्टीमा विधि, प्रणाली स्थापित गर्न विधान पुनर्लेखन गरी कार्यान्वयन गर्ने, फरक मतलाई सम्मान गर्दै लोकतान्त्रिक जनवादी विधि मार्फत अन्तसंघर्ष र दुई लाइन सङ्घर्ष व्यवस्थित गर्नु पर्ने बताएका छन् । सरकारको १५ वर्षको अवधिमा प्राप्त भएका उपलब्धि व्यक्तिगत र संस्थागत रूपमा मूल्याङ्कन गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै बैठकमा शर्माले गठबन्धन बनाउने,भत्काउने र फेरी बनाउने अहिलेको उथलपुथलले सङ्घीय सरकारदेखि प्रदेश सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो भन्दै प्रश्न गरेका छन् । पार्टी फुट्दै छ भन्ने नेतृत्व तहबाट किन हल्ला चलाएको भन्दै उनले प्रश्न गरेका छन् । सहिद, बेपत्ता योद्धा परिवार तथा घाइते योद्धाहरूको लागि व्यवस्थापन गर्न विशेष कार्यक्रम बनाउनुका साथै शान्ति प्रक्रिया टुङ्ग्याउन पहल गर्नुपर्ने प्रश्न गरिएको छ ।