नयाँ गठबन्धन भित्रका दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद, एमाले र रास्वपाको दाबी

0 Shares

नयाँ गठबन्धन भित्रका दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद देखिएको छ।

नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने अडान राखेका छन्। बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका हुन्। माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट पारेको थियो।

एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यो विषय छलफलबाट मिलाउन आग्रह गरेको स्रोतको भनाइ छ। ‘तपाईंहरूले छलफल गरेर गृह कसले लिने मिलाउनुहोस्, माओवादीको दाबी छैन,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।

रास्वपा सभापति गृह मन्त्रालय पाए आफू नै सरकारमा जाने तयारीमा रहेको स्रोतको दाबी छ। तर एमालेले गृह आफूहरूले पाउनुपर्ने बताइरहेको छ।

नयाँ गठबन्धन दलबाट आज एक-एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी छ। एमालेबाट पदम गिरी, माओवादीबाट हितमान तामाङ र रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने तयारी छ।

सम्बन्धित समाचार