काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पटक–पटक नयाँ स्टक एक्सचेन्ज स्थापनाको विषयमा स्पष्ट आदेश दिन अर्थ मन्त्रालयमा पत्राचार गरेको थियो । नयाँ स्टक एक्सचेन्ज चाहिने आशय सहितको पत्र आए पनि क्याबिनेट निर्णयबाट नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने प्रक्रिया रोकिएको हुँदा त्यसलाई मन्त्रालयले केही नगरी क्याबिनेट नै फर्वार्ड गरिदिएको पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए ।
सबै प्रक्रिया पूरा भइसकेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदबाट निर्णय गरेर थप अध्ययन गर्न जरुरी रहेको भन्दै नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया स्थगन भएको थियो जबकि यसमा अदालतले समेत नयाँ स्टक एक्सचेन्ज स्थापनाको कार्य सुचारु गर्न बाटो खोलिदिएको थियो ।
‘केही संस्थाहरुको मूल्य जसरी वृद्धि भएको छ, त्यो स्वभाविक देखिएको छैन त्यसकारण लगानीकर्ताहरुले सम्बन्धित संस्थाहरुको बलियो पक्ष के हो, कमजोर पक्ष के हो, लाभांश दिन सक्ने क्षमता के छ, दीगो रुपमा अगाडि बढ्न सक्ने आधार के छ सबै पक्ष होसियारीपूर्वक अध्ययन गरेर होसियारीपूर्वक लगानी गर्नुपर्छ । नियामक निकाय सेबोनले फेयर प्राक्टिस भइरहेको छ कि छैन भनेर निरन्तर निगरानी गर्नुपर्छ जसले आम लगानीकर्ताको पुँजी नफसुन त्यसमा सेबोन सजग हुनुपर्छ ।’– पूर्व अर्थमन्त्री महतले अर्थ समितिमा भने– ‘मैले यो भन्दा कतिपय लगानीकर्ताले प्रेस विज्ञप्ति जारी गरेर विरोध गरे ।
सेबोनको बजारको सुक्ष्म सूचना लिएर इन्साइडर ट्रेडिङ भएको छ कि छैन जानकारी लिएर बजार म्यानु्पुलेट भएको छ छैन निगरानी गर्नुपर्छ । आम लगानीकर्ताको लगानी नडुबोस् भन्ने मेरो सरोकारको विषय हो ।’ सूचीकृत कम्पनीको मुख्य लगानीकर्ताको आफन्तले नै कम्पनीमा काम गरिरहेको सेबोनले अध्ययनले देखाएको बताउँदै उनले सेबोनलाई पुँजी बजारको नियमन गर्ने अधिकार दिएको हुँदा कुनै कैफियत छ भने त्यसमा सुधार गर्न त्यसबेला निर्देशन दिएको बताए ।