हामी कसैलाई दु:ख दिँदैनौँ- प्रधानमन्त्री ओली

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कसैलाई दु:ख नदिने बताएका छन् । मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्बोधन गर्दै उनले कसैलाई दु:ख नदिन आफ्नो नेतृत्वमा सरकार बनेको बताए ।

प्रधानमन्त्री ‍ओलीले भने, ‘तपाईहरुलाई भन्न चाहान्छु, सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन, हामी कसैलाई दुःख दिँदैनौँ, दुःख दिने नियति पनि हाम्रो छैन ।’

यस्तै, प्रधानमन्त्री ओलीले सरकार कसैप्रति प्रतिशोध साध्न नबनेको बताउँदै अर्थतन्त्र सुधार गरेर देशको विकास गर्ने पहिलो काम भएको बताए । वर्तमान सरकारले कसैको अनुहार हेरेर क्षमा दिने र कारबाही गर्नेतर्फ नजाने उनको भनाइ थियो ।

‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ, भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम गर्न सक्छौँ, यसरी भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ,’ उनले भने ।

यसैगरी भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर-सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन आवश्यक देखिएको उनको दाबी थियो ।

सम्बन्धित समाचार