डलरको मूल्यमा पुनः नयाँ रेकर्ड, कमजोर बन्दै नेपाली रुपैयाँ

0 Shares

काठमाडौँ । डलरको मूल्यमा पुनः नयाँ रेकर्ड बनेको छ। साउन २२ गते, मंगलबार, डलरको मूल्यले गत शनिबार बनाएको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो। यस अघि गत शनिबार अर्थात साउन १९ गते, डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। सो दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा र खरिददर १३३ रुपैयाँ ७१ पैसा कायम भएको थियो।

डलरको भाउ महंगिदै जाँदा आयात झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केही फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदा भन्दा बेफाइदा बढी हुन्छ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिन प्रतिदिन कमजोर हुँदै गएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

यस दिन युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४७ रुपैयाँ २१ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७० पैसा र बिक्रीमा ३६ रुपैयाँ ८७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ २५ पैसा र बिक्रीमा ३० रुपैयाँ ३९ पैसा पाइन्छ।

सम्बन्धित समाचार