काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन् ।
नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा-धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गरे ।
मकवानपुरको बकैया गाउँपालिका १२ धेद्रेस्थित काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ आज ‘ब्रेक थ्रु’ भएको हो ।
प्रधानमन्त्री ओलीले भने, “विगतमा जुन रफ्तारमा विकास हुनु पथ्र्यो, त्यो हुन सकेन, अब विकासको नमुनाका रुपमा यो द्रुतमार्ग बन्ने छ, यस मार्ग अघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा ब्यवधानलाई समाधान गर्न सरकार तत्पर छ ।’’
उनले नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिए पनि द्रुतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गरे ।