काठमाडौं । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले देशका प्रमुख दुई राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र समृद्धिका क्षेत्रमा योगदान दिन सकियोस् भन्ने हेतुले काम गरिरहेको बताए ।
ताप्लेजुङ पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै भट्टराईले दुई दल मिलेर अर्थतन्त्रलाई समेत चलायमान बनाउने बताए ।
उनले भने, ‘देशलाई धेरै प्रयोगशाला नबनाऔँ, यी दुई दल इतिहासका निर्मातासँगै एकआपसका प्रतिस्पर्धी पनि हुन्, लोकतन्त्र प्राप्ति, शान्ति प्रक्रिया, संविधान निर्माणलगायत इतिहासका कठिन मोडमा मुलुकलाई अग्रगमनमा लैजान योगदान दिएका दल हुन् ।’
अहिलेको अस्थिर राजनीतिका कारण इतिहासको महत्वपूर्ण क्षणमा एक ठाउँमा आउनुपरेको बताए । उनले वर्तमान सरकार गठन भएसँगै सकारात्मक सन्देश आमजनतामा गएकाले राष्ट्रिय आत्मविश्वास बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।