नेपालको प्राकृतिक सुन्दरता दृश्यावलोकन गर्न विश्वका पर्यटकलाई प्रधानमन्त्रीको आग्रह

0 Shares

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरुलाई आग्रह गरेका छन् । विश्वका छानिएका भ्लगरहरुको लुक्ला विमानस्थलदेखि सगरमाथा आधारशिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी शो ‘द च्यालेन्जर्स ः गेम अफ हिमालयज’ को प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जो कोहीलाई अर्काे पटक आफै आउँआउँ लाग्ने बताए ।

उक्त रियालिटी शोका माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वजगतलाई चिनाउन थप मद्धत पुग्ने उल्लेख गर्दै उनले नेपालको सुन्दर प्रकृति अवलोकन नगरिए जीवनको सार्थक अर्थ नहुने बताए । नेपालका हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ति चढेर जङ्गल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको उनको भनाई छ । प्रिमियर शोमा लुक्ला विमानस्थल एक खतरायुक्त विमानस्थलका रुपमा प्रस्तुत गरिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले सामान्यतः विश्वका सबै विमानस्थल एक प्रकारले खतराकै स्थितिमा हुने तर्क राख्दैै लुक्ला विमानस्थलमा उडानका लागि अति तालिमप्राप्त र अनुभवी पाइलट मात्रै खटिने स्पष्ट पारे ।

‘म आफै धेरै पटक विमान चढेर लुक्ला पुगेको छु, विमानस्थल खोँचमा रहेको र धावनमार्ग सानो भए पनि त्यहाँ दैनिक ८५ उडान हुन्छन्’ प्रधानमन्त्रीले भने, ‘अनुभवी पाइलटका कारण अहिलेसम्म कुनै दुर्घटना भएको छैन । त्यसकारण लुक्ला विमानस्थलमा कुनै खतरा छैन । विमानस्थल सुरक्षित छ । यसको जिम्मा म लिन सक्छु ।’
प्रधानमन्त्री ओलीले नेपालमा सगरमाथासँगै चर्चा गर्न लायक हिमालहरु कञ्चनजङ्गा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायत रहेको जानकारी दिए ।

प्रिमियर शो हेर्न प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित अमेरिकी राजदूतावासका अधिकारी, ख्यातिप्राप्त कलाकार उपस्थित थिए । श्री गुरुङद्वारा निर्देशित यस रियालिटी शोमा नेपालसहित छ देशका ११ जना १९ देखि ३० वर्ष उमेरका युवा भ्लगरहरु सहभागी छन् ।

सम्बन्धित समाचार