चार दिन सँगै बसेपछि यस्तो अवस्थामा भेटियो युवक र युवतीको शव

0 Shares

काठमाडौं । काठमाडौं महानगर ९ सिनामंगलको शम्भुमार्गस्थित एक गेष्टहाउसमा युवक र युवतीको शव फेला परेको छ । दुई जना सँगै बसेको चार दिनपछि शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुरा त्रिवेणी नगरपालिका ४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही स्थानकी २० वर्षीया करिश्मा सार्कीको शव फेला परेको हो ।

“उनीहरु यही साउन १५ गतेदेखि उक्त गेष्ट हाउसमा बस्दै आएको र आज दिउँसो १२ बजेसम्म खाना खानका लागि बोलाउन जाँदा ढोका नखोलेपछि दिउँसो १ बजे प्रहरीलाई खबर गरिएको जानकारी प्राप्त भएको छ,” उनले भने ।

प्रहरीका अनुसार गेष्टहाउसको ढोका खोलेर हेर्दा महिला घाँटी काटिएको र पुरुष पङ्खामा डोरीले पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेको थियो । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

 

 

सम्बन्धित समाचार