स्यानिटरी प्याडमा भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दायर

0 Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याड खरिदमा अनियमितता गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार यादवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले यादवसहित तत्कालीन नगर उपप्रमुख शिलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखाप्रमुख सुदीप कुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, श्री माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवार, तत्कालीन सबइन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङ प्रालि धनुषाका प्रोपाइटर एवं राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मन्सुरविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद गरेको तथा गुणस्तरयुक्त नभएको पाइएको अख्तियारले जनाएको छ । शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौता हुनुअगावै र कहीँकतै संख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ प्रालि ले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको पनि अख्तियारले उल्लेख गरेको छ ।

झुट्टा विवरण एवं सूचना तयार गरी गलत कागजातहरुको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता र भुक्तानी गरेको भन्दै अख्तियारले उनीहरुविरुद्ध जनही १३ लाख ९३ हजार रुपैयाँ बिगो तथा जरिवाना र सजायको माग गरेको छ । यस्तै, अख्तियारले कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । आयोगका अनुसार लेखापढी गर्ने पोखरेलले सेवाग्रहीसँग लिएको एक लाख मध्ये ५० हजार सर्वेक्षक चौलागाईलाई दिएका थिए । आयोगले पोखरेलविरुद्ध बिगो ५० हजार कायम हुने गरी र चौलागाईविरुद्ध ५० हजार बिगो कायम हुने गरी कैद सजायको मागदावी गरेको छ ।

सम्बन्धित समाचार