सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन- सरकारलाई असफल हुन दिइन्नँ, ढुक्कले काम गर्नुस्

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले असफल हुने छुट नरहेको बताएका छन् ।

सरकारका सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नु परेको बताए ।

“यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्, राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ, त्यस कारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ, यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,” प्रधानमन्त्री ओलीले भने ।

यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेहरुलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरता सन्देश दिने स्पष्ट पारे ।

“त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरुले ढुक्कले ठिक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनछ,” प्रधानमन्त्री ओलीले भने ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तिव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिए ।

सम्बन्धित समाचार