एमाले-माओवादी मिल्ने कुरा एकादेशको कथा भइसक्यो- महासचिव पोखरेल

0 Shares

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले कम्युनिष्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताएका छन् । दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले वामपन्थीहरू एमाले र माओवादीबीच हुने एकता अब एकादेशको कथा भइसकेको बताउँदै पुरानो बाटो नहिँड्ने बताए ।

उनले साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना गरेको उनको आरोप थियो । यसैबीच कम्युनिष्ट विचार राख्ने एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्ने कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक रहेको बताए ।

‘नेताका टाउको जोडेर होइन, कार्यकर्ताको मन जोडेर बलियो बनाउनु पर्छ, टाउको बनेको एकता असफल भइसक्यो,’ उनले भने, ‘जो बामपन्थमा विश्वास हुनेछ त्यो नेकपा एमालेको वरिवरी ध्रुविकरण हुनेछ, जो पुँजीवादीमा विश्वास गर्दछ, त्यो नेपाली कांग्रेसको वरिपरी ध्रुविकरण हुनु पर्दछ ।’

दुई प्रमुख दल मिलेर अगाडि बढ्ने अठोट गर्दा स्वाभाविक रूपमा मानिसमा प्रश्न उब्जिएको भन्दै महासचिव पोखरेलले मुलुकको लोकतान्त्रिक मूल्य मान्यताको सवालमा कांग्रेस र एमाले विगतदेखि मिल्दै आएको स्मरण गरे ।

यस्तै, उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूमाथि गम्भिर आरोप लगाएको बताए । ‘कांग्रेस एमालेले साथ दिँदासम्म इमान्दार पार्टी-देशभक्त पार्टी, साथ दिएन भने भ्रष्ट पार्टी, देशघाती पार्टी भन्न उहाँलाई कुनै आइतबार लाग्र्दैन भन्ने कुरा हामीले प्रत्यक्ष रुपमा अनुभूति गर्यौं, अनि हामी मिल्ने अवस्था पुग्यौँ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री माधव नेपालप्रति लक्षित गर्दै उनले अघिल्लो गठबन्धनमा १० सिटका नेतालाई प्रधानमन्त्री कबुल नगर्दा गठबन्धन भत्काउने काम भएको दाबी गरे । उनले स्थायित्व र विकासका लागि बलिया राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको बताए ।

 

सम्बन्धित समाचार