काठमाडौं । नेकपा माओवादी केन्द्रले समाजको पिधमा भएको तल्लो वर्गसंगको वर्गीय दृष्टिकोण धुमिल हुँदै गएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा पदाधिकारी बैठकमा बोल्ने अधिकाश नेताले पार्टीको वर्गीय दृष्टिकोण बोदो भएको निष्कर्ष निकालेको हो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहित अधिकाश नेताले पार्टी र वर्गको मेल नहुँदा संगठन कमजोर भएको निष्कर्ष निकालेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए । ‘पार्टी सुद्धीकरण गरेर एकता गरेर जनतामा जानुप¥यो । जनतामा पनि हाम्रो वर्गमा जानु प¥यो’ सापकोटाले भने, ‘पार्टी खुम्चिदै गएको छ । पार्टी खुच्दिै जाँनुका विविध कारण छन् । त्यसमध्ये हामीले वर्गसंगको सम्बन्ध सुदृढ गर्न सकेनौं ।
पार्टीको वर्गीय कडि टुटेको जस्तै भयो । हाम्रो वर्गीय दृष्टिकोण धुमिल जस्तै भयो ।’ उपाध्यक्ष सापकोटाले जनयुद्धमा माओवादीको वर्गीय दृष्टिकोण स्पष्ट हुँदा विश्वकै ध्यानकर्षण गर्न सफल भएको जिकिर गरे । पछिल्लो समय पार्टीको वर्गीय दृष्टिकोण भुत्ते हुँदा संगठन कमजोर भएको सापकोटाको भनाई छ । आफ्नै वर्गमा पार्टी फर्र्किएमा परिवर्तन समेत कसैले उल्ट्याउन नसक्ने माओवादी निष्कर्ष छ ।
गत शुक्रबारदेखि जारी पदाधिकारी बैठक सोमबार सबै नेताले आ आफ्नो धारणा राखिसकेका छन् । मंगलबार अध्यक्ष प्रचण्डले पार्टी बैठकलाई जवाफ दिएपछि पदाधिकारी बैठक सकिने भएको छ ।